Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
  गृहपृष्ठ
  गीत
  कविता
  गजल
  कथा
  गीत सुन्नुहोस
  भिडियो हेर्नुहोस
  समाचार
  साहित्यिक अन्तर्वार्ता
  सृजना सम्प्रेषण
  सम्पर्क
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
 
 
     
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
कथा
 
 
मुक्ति- देवकुमारी थापा

कर्ण लम्पसार परेर ओछ्यानमा पल्टिरहेका थिए। उनको हाड र छाला भएको शरीर देख्दा कुनै दिन उनी खाइलाग्दा युवक प्रसिद्ध धावक भनेर पत्याउन गाह्रो पर्थ्यो। केही समय अघिसम्म कर्ण नेपालका प्रसिद्ध धावक तथा पुरस्कार विजेता थिए। बलिया, अग्ला, गोरो वर्णका, फरासिला कर्ण कटुवाल जीवनसँग लपक्क टाँसिएर त्यसको भोग गरिरहेका थिए। स्वास्थ्य, पैसा, साथीभाइ, प्रसिद्धि – सबै थियो उनको, अझ त्यसमा थपिएको थियो – शिक्षित, सुन्दर जीवनसङ्गिनी। प्रेमविवाहपछि पनि उनीहरूको प्रेम सेलाएन बरु जरा गाड्दै बलियो भएर त्यो सम्बन्धलाई थेगेको थियो।

कसैलाई त सुखैसुख हुन्छ एक थरी भन्थे। आफ्नो-आफ्नो भाग्य। भाग्यवादी भन्थे तर सधैँ सुखैसुख कसैलाई पनि फाप्दैन भन्ने कुरो भावीलाई मात्र थाहा थियो। कर्णको जीवन बिथोल्न त्यो अफाप एक्कासि देखापर्‍यो। एक्कासि के भन्नु त्यो ता उनको लगातारको चुरोट फुकाइसँग सुटुक्क पसिसकेको थियो उनको फोक्सो खान। कर्णले त्यसको सुइँकोसम्म पाएनन्। उनी जीवन भोग गर्न, त्यसको तृप्ति अनुभव गर्न, यति व्यस्त थिए कि रोग उनको फोक्सोमा सुटुक्क पसेको थाहा नै पाएनन्।

हुनेहुनामी हुन्छ भनेर कान्तालाई विश्वास थियो। उनको मनमा ढ्याङ्ग्रो बजिसकेको थियो तैपनि उनले कर्णलाई सिगरेट छोड्ने आग्रह गरिन्, घुर्कीसमेत लगाइन् तर उनको केही लागेन। कर्णले अम्मल छोड्न सकेनन्। चुरोट अम्मल मात्र नभएर प्रतिष्ठाको प्रतीक भइसकेको समाजमा उनले एकोहोरो सिगरेटको धूवाँ उडाउनु कुनै नयाँ कुरो थिएन। कान्ताको अचेतनभित्र बसेको डरले भने भविष्यमा हुने बज्रपातको सङ्केत दिइसकेको थियो। नारीहृदयको त्यो प्रेम, त्यो करुणा त्यो त्रास कर्णले बुझ्न सकेनन्। "जीवन बग्ने खोलाजस्तै मुक्त हुनपर्छ, गतिशील, बन्देज र घेराभित्र साँघुरिएको जीवनलाई भारी बोकेजस्तै बोकिहिँड्नुभन्दा मुक्त आनन्द जीवन बाँच्नुपर्छ, थोरै भए पनि।" कर्णको यस सिद्धान्तसँग कान्ता सहमत थिइनन् तापनि त्यसको विरोध उनले गर्न सकिनन् कर्णकै सुखको निम्ति ! तर कर्णको मुक्त जीवनको गति एक दिन ठक्क रोकियो।

कर्णको घाँटी दुख्यो, उनले साधारण औषधि-उपचार गरे केही बिसेक भयो। महिना दिनपछि त्यो फेरि बल्झियो। यसपाला औषधिले काम गरेन, उनले घाँटीको विशेषज्ञलाई देखाए। विशेषज्ञले 'वायोप्सी' (रोगको निदान गर्न रोग लागेको ठाउँको अंश झिकेर जाँच गर्ने तरिका) गर्ने सल्लाह दिए। 'वायोप्सी' पछि रिपोर्ट आयो क्यान्सर। कान्ताबाहेक अरू सबै छक्क परे। ३०-३२ वर्षमा नै क्यान्सर रोग ! कान्तालाई भने आफ्नो टाउकोमाथि झुन्डिरहेको ढुङ्गा बल्ल खसेर उनको भाग्य फुटाएको जस्तो लाग्यो। उनको नौनाडी गलेर आयो तैपनि उनले कर्णलाई भारतको भेलोरस्थित प्रसिद्ध अस्पतालमा लगिन्। त्यहाँ पनि फेरि वायोप्सी गरियो। रोगको निदान उही 'क्यान्सर।'

उनी बिरामीलाई लिएर घर फर्किन्। जन्मेपछि मर्नु निश्चित छ, यो कुरा पुरानै हो तैपनि यो सत्यलाई टार्न सबै कोसिस गरिरहन्छन्। टार्न नसके केही समयको निम्ति भए पनि जीवन लम्ब्याउन चाहन्छन्। वैज्ञानिकहरू मृत्युञ्जयी हुन अनुसन्धान गरिरहेका छन्। मान्छे अमर भयो भने सुखी हुनसक्छ वा सक्तैन भन्ने कुरा अन्वेषकको होइन। उसलाई त आविष्कारसँग मात्र मतलब छ। अणुशक्ति आविष्कार गर्नेले अणुबमको भयङ्करता कल्पना गरेका थिए ? मृत्यु आइलागेपछि त्योसँग जुध्न मानिस खोज्छखोज्छ ! अरू केही दिन जीवनलाई लम्ब्याउन चाहन्छ युवा हुन् वा बूढा। मान्छे ब्रह्मज्ञानी त होइन।

हरेस खाए पनि कान्ताले कर्णको औषधि उपचार गरिरहिन्। घाँटीको नलीमा प्वाल पारेर त्यहाँ रबरको नली जोडिएको थियो। त्यही नलीबाट फलको रस आदि रोगीको शरीरभित्र पुर्‍याइन्थ्यो। उनले मुखबाट केही निल्न सक्तैनथे। शरीर सुकेर ओछ्यानमा टाँसिइसकेको थियो। उनका आँखामात्र ठूलठूला चहकिला देखिन्थे।

एक दिन कर्णले कान्तालाई लरबराएको स्वरमा भने – "कान्ता ! म मर्छु भनेर जान्दाजान्दै पनि किन मलाई औषधि गरिरहन्छयौ ? रबरको नलीबाट चुसेको रसले यो शरीर थेग्न सक्तैन। अरू अब यो कष्ट नलम्ब्याऊ।" बरु मलाई मुक्ति देऊ। कान्ताले भक्कानिएको स्वरलाई स्वाभाविक पार्दै भनिन्- "यसरी हरेस खानु हुन्छ ? सास रहुन्जेल आस हुन्छ, मैले कसरी मुक्ति दिने ?" आँखाबाट बरर्र आँसु खसाउँदै कर्णले भने – "बिन्ती कान्ता ! मलाई सधैँको निम्ति चिरनिद्राको चक्की वा सुई देऊ। यो नर्कको यातनाबाट मुक्ति चाहन्छु।"

कर्णको आँसु देखेर उनले मनमनै भनिन्- 'यस्तो दिन देख्‍नुअघि नै म मरेकी भए हुन्थ्यो। जीवनको जस्तै सारोगाह्रोलाई पनि हाँसेर उडाउने धावक कर्ण आज ओछ्यानमा टाँसिएर आँसु झारिरहेका थिए।' उनको सम्झनाको पर्दामा प्रसिद्ध धावक कर्ण कटुवाल बाइपङ्खी घोडा कुदेजस्तो कुदेको, जीवनका रसरङमा चुर्लुम्म डुबेका दृश्यहरू निस्कँदैहराउँदै गर्न लागे। उनले आपस्तमा प्रेमले बिताएका रातहरू सम्झिन् अनि खुइय्य गर्दै सुस्केरा हालिन्। अब त सम्झना मात्र रहने भए, बिपना त बिलाएर गइसके।

कान्ताले अब एउटा निर्णय नगरी भएन, त्यो निर्णय उनले गरिन्। उनले घरको पुरोहितलाई बोलाउन पठाइन् र कर्णको हातबाट गाईदान गरिदिइन्। कर्णको सुकेको हात गाईका पुच्छर समातेको भए पनि उनका दुवै आँखा कान्ताको अनुहारमा अल्झेका थिए विश्वासका साथ। पुरोहितलाई बिदा दिएर कान्ता पूजाकोठामा गइन् र हात जोडेर प्रार्थना गरिरहिन्। त्यहाँबाट उनी बिरामीको कोठामा आइन्। रोगीको मुहार विवर्ण हुँदै थियो। कान्ताले उनको सिकुटे हात आफ्नो हातमा लिएर खेलाइरहिन् र भनिन्- "म तपाईँलाई यो कष्टबाट मुक्त गरिदिन्छु। यसको निम्ति मैले पछुताउ गर्नुपर्छ कि पर्दैन त्यो ता पछिको कुरा। कसैले थाहा पाए भने मलाई अपराधिनी पनि भन्नेछन् तर मलाई त्यसको डर छैन। म अब अरू बिजोग हेर्न सक्तिनँ।" कान्ताले आफूलाई सम्हाल्न सकिनन्। त्यो नरकङ्काल छातीमा टाउको राखेर हिक्का छोडिन्। कर्णले उनको टाउको सुमसुम्याउनसम्म सकेनन् तर उनका आँखाबाट बलीन्द्र धारा बगे।

केहीबेरपछि कान्ताले आफूलाई सम्हालिन् र कर्णको निधारमा म्वाइँ खाइन्, आमाले छोरालाई खाएजस्तै ! त्यसपछि डब्बाबाट 'कमपोस' का चक्कीहरू झिकेर मसिनो पिँधिन्। त्यो धूलो अलिकति फलको रसमा मिसाएर रबरको नलीबाट बिस्तारै खन्याउन थालिन्। रस कर्णको शरीरमा पस्न थाल्यो, उनको आँखा कान्ताको अनुहारमा अडिरह्यो। बिस्तारै उनले आँखा चिम्ले, कान्ताका गला भिजिरहे, उनले आफ्नो ओठ टोकिरहिन्।

गरिमा पूर्णाङ्क २०९ बाट साभार।

 

 
 
Site Counter        
 
net tracking statistics
       
    Go to Top | | Main page    
 
Copyright © 2009,Kalasahitya.All Right Reserved.