Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
  गृहपृष्ठ
  गीत
  कविता
  गजल
  कथा
  गीत सुन्नुहोस
  भिडियो हेर्नुहोस
  समाचार
  साहित्यिक अन्तर्वार्ता
  सृजना सम्प्रेषण
  सम्पर्क
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
 
 
     
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
कथा
 
 
फेरि यौटा इतिहाँस लेखिंदैछ - हेमन्त परदेशी
   

आज जेठ सोह्र गते । अर्थात एकजुगमा एकचोटी आएको एकदिनको उल्लासमय वातावरणमा स्वदेशमा मात्र होइन अपितु बिदेशका कुना-कुनामा छरिएर रहेका आम नेपालीहरुले एकै स्वरमा खुशीयाली ब्यक्त गरिरहेको दिन । कतै आतेसबाजी त कतै हर्षबढाई अनि कतै जयजयकार त कतै गणतन्त्रकै बढाई चढाई ।एक अर्थमा भन्ने हो भने संसारका कुना-कुना अनि पाटा-पाटाहरुमा गणतन्त्रको स्वागतार्थ लामबद्ध बनिरहेका नेपालीजनहरुको सजीव दृष्य-चित्र ।
बिहान सबेरैदेखि अमितको मन पनि त्यसै त्यसै पुलकित बनिरहेकोछ । अझ केहीबेर अघि मात्रै आफ्नो जीवनसंगिनी प्रेरणासित भएको दूरभाषवार्ता पछि त ऊ झनै उमंगित एवम् भावावित बन्न पुगेको छ ।
साँच्ची कस्तो ठ्याक्कै मिलेको उसको कल्पना र गाउँवस्तीका हर्षोल्लासमय यथार्थ दृष्य-चित्रहरु? देदीप्यमान आकाश नै चुम्ने गरी जताततै गुन्जिरहेका बिजयगान र गणतन्त्र जिन्दाबादका कर्कश-ध्वनीहरुबीच संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलोपल्ट अनावरण गरिरहेका नेपालीजनहरु । कल्पना गर्दा मात्रै पनि खुशीले पागलसरी बन्छ ऊ ।
हुन पनि हिजो राति सम्पन्न संबिधानसभाको ऐतिहासिक पहिलो बैठकले शदीयौँदेखि एकछत्र राज गर्दै आइरहेको सामन्ती राजतन्त्रलाई विधिवत रुपमा दाहसंस्कार गर्दै पहिलोपल्ट नेपाललाई विश्वको मानचित्रमा यौटा स्वतन्त्र , अविभाज्य एबम् गौरबमयी संघीय लोकतान्तृक गणतन्त्रात्मक राष्ट्रको रुपमा स्थापित गरेकोछ र एकजुगमा एकचोटी आएको यो एकदिनले युगौंदेखि अधुरो रहेको गणतन्त्रप्रतिको नेपाली नागरिकहरुको सपनालाई साकार रुप दिएकोछ । यद्यपि समयका गोरेटाहरुमा पटक-पटक खुशी लुटिएका जनताका वास्तबिक जीवन-भोगाइका चश्मादीत हवाहहरु अझै पनि शंकाको भूमरीभित्र रुमल्लिइरहेकैछन् ।
भन्नैपर्दा अ मितको मनभित्र पनि कता-कता शंकाको कालो बादल मडारी नै रहेकोछ । खासगरी छ्यालीस सालको परिवर्तन र त्यो परिवर्तनले नेपालीजनहरुलाई उपहार स्वरुप प्रदान गरेको "हात्ती आयो हात्ती आयो फुस्सा" को सकुनीकृत खेलबाट राम्ररी परिचित ऊ त्यस कालखण्डलाई सम्झेर आज पनि पटक-पटक शंकाको घेराभित्र फस्ने गर्छ ।
हुन पनि आवश्यक्ताभन्दा बढी नै बढाई-चढाई गरिएको त्यस परिवर्तनले जनताका आशातीत सपनाह्रु पूरा गर्ने कुरा त परै राखौं कमसेकम उनीहरुका बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका उपलब्धी एवम् अधिकारहरुको उचित सम्मान र संरक्षण गर्न सकेको मात्रै भए पनि मुलुकले सिंगो बाह्रबर्ष गृहयुद्धको चक्रब्यूहमा फस्नुपर्ने थिएन भन्ने यथार्थताबाट अलिकति पनि टाढा रहेको छैन ऊ । अझ राष्ट्रिय एकता र अखण्डताको नाममा छलकपटपूर्ण लादिएको एकल राज्य-ब्यबस्थाको पुरानै संरचनाले आफू जस्ता कैयौं सीमान्तकृत नागरिकहरुलाई विरासतमा दिएको घरको न घाटको उधारो जिन्दगीको स्मरणले त ऊ झनै मर्माहत बन्ने गर्छ ।
हो , आज पनि उसले धेरैको मुखबाट सुनिरहेकै छ कि एकल राज्य-ब्यबस्थाको दमन र उत्पीडनका कारण इतिहासमा सीमित बनिसकेकाआ-आफ्ना जातीय एवम् क्षेत्रीय पहिचान र अस्तित्वको खोजीका लागि जुर्मुराइरहेका सीमान्तकृत जाति र वर्गहरुबाट मुलुकको राष्ट्रिय अखण्डतामा खतरा बढ्दैछ रे । यद्यपि उसको मन मस्तिष्कमा पहिल्यैदेखि सुझिरहेको एउटै यथार्थ चाहिँ के हो भने यी सबै बेतुक र कुतर्कका भट्भटाईहरु केवल अर्थहीन एवम् पूर्बाग्रही मात्रै छैनन् अपितु मुलुकको राज्य-ब्यबस्थालाई पुरानै अवस्थामा राखिइरहन छहने यथास्थितिबादीहरुको सुनियोजित एवम् संगठित प्रतिगामी षडयन्त्रको उपज पनि हुन् ।
वास्तबमा भन्ने हो भने संघीय गणराज्यको निर्माणले मुलुकलाई कमजोर र बिभाजित बनाउँछ भन्नु आफैमा यौटा आधारहीन तर्क मात्रै हो । त्यसैले अमितको यस धारणासंग पटक्कै सहमति छैन । किनभने कसैको कमजोर एवम् सतही विश्लेषणले संघीय गणराज्यको अवधारणालाई नेपाल एकीकरणपूर्बको बाइसे र चौबीसे राज्यहरुसंग तुलना गरे पनि उसले बुझेको संघीयताको परिभाषामा यसको अलिकति छाँया सम्म देख्तैन ऊ ।
हुन पनि आज मुलुकमा उठिरहेको आत्मनिर्णयसहितको संघीय गणराज्यको निर्माणको मुद्धा न त हिजोका बाइसे र चौबीसे राज्यहरुको पुनरुत्थानको लागि हो न त कुनै पृथक एवम् स्वतन्त्र नयाँ राष्ट्रको अस्तित्व निर्माणको लागि नै हो । बरु यो त नयाँ नेपालको पबित्र निर्माणकार्यमा सबैखाले सीमान्तकृत जाति र बर्गहरुले समेत साझा सहभागिता जनाउन पाउनुपर्छ भन्ने राष्ट्र निर्माणप्रति चिन्तित देसभक्ति भावनाको द्धोतक पो हो ।
हुन त भबिष्य भन्ने कुरा सधैं अनिश्चित हुन्छ । त्यसैले , हुनसक्छ आजको यो परिवर्तनले आमनागरिकहरुलाई अपेक्षा गरेभन्दा पनि बढी मुक्ति र अधिकार प्राप्त भएको अनुभूति दिलाउन सक्छ र यो पनि हुनसक्छ कि परिवर्तनसंगै अनायसै चुलिएका उनीहरुका आकांक्षाहरु सात साल र छ्यालीस सालमा जस्तै फेरि पनि पानीका फोकाहरुमा परिणत हुनसक्छन् । यद्धपि युगान्तरको समयको बिकासक्रमसंगै बदलिन पुगेका उ जमाना र यो जमानाबीचको चेतनास्तरको अन्तरले यसपल्टको परिवर्तनलाई त्यति सजिलै खेर जान दिने छैन भन्ने कुरामा भने कसैको दुईमत हुन सक्तैन ।
हो , उमेरको खुड्किलो चढाईसंगै इतिहासको चश्मादीत गवाह बन्दै जानु मानव जीवनका स्वाभाविक प्रकृयाहरु नै हुन् र अमित स्वयम् पनि यस प्रकृयाको ज्वलन्त दृष्टान्त हो । खासगरी सैंतीस साल पछिका थुप्रै घटना र प्रतिघटनाका परिदृश्यहरु आज पनि उसका अन्तस्करणहरुमा त्यतिकै ताजा बनेर दृष्यानुभूत भइरहेकाछन् । यहाँसम्म कि छ्यालीस साल पूर्बका कुनै कुनै घटनाको स्मरणले त बेला बेलामा नराम्ररी झस्किने समेत गर्छ ऊ ।
हुन पनि सिंहदरबारमा खाल जमाएर बसेका कथित राजनेता र मन्त्रीहरुको त के कुरा र गासस नामधारी टोलकै पानी सदस्यहरुको धाक र रवाफ पनि कम खपिनसक्नुको हुँदैनथ्यो त्यसबेला । शाही परिवार र सरकारी मन्त्रीहरुको सवारीहरुमा मात्रै होइन अन्चलाधीश र सिडिओ एलडिओको आगमनमा समेत टोलमाथिको अग्लो डाँडाबाट जारी गरिएको मौखिक उर्दीकै भरमा तोकिएको स्थानमा अनिवार्य उपस्थिति जनाउनै पर्ने बाध्यता थियो । कथंकदाचित उनीहरुको उर्दी शीरोधार्य गर्न चुकियो भने मात्रै पनि त्यसदिनबाट उनीहरुको अघोषित सत्रुको कित्तामा परिहालिन्थ्यो । त्यसपछि त के हुन्थ्यो र? राजद्रोही , देसद्रोही एवम् अराष्ट्रिय तत्व जस्ता अनेकन् उलङ्कारले सुशोभित हुनुपर्थ्यो ।
अमितको स्वाभाव अलिक बिद्रोही खालको रहेको कुरा त विवाहपछिका दिनहरुमा प्रेरणाली उसमा नरमपन ल्याउन गरेकी अथक प्रयासहरुबाटै पनि प्रष्ट हुन्छ । यद्धपि किशोरावस्थाको कलिलो मस्तिष्कमा टुसाउन पुगेको उसको त्यो बिद्रोही भावना उमेरको परिपक्वतासंगै नरम हुनुको साटो झनै रुखो र कठोर बन्दै गयो र अन्तत: एकदिन राज्यकै बिरुद्धमा हतियार उठाउने अवस्थामा समेत पुग्यो ।
आज पनि सम्झन्छ उ त्यस दिनको घटनालाई जुन घटनाले उसको शालीन र नरम स्वाभावलाई एकाएक बिद्रोहको ज्वालामा परिणत गरिदिएको थियो ।
हो , त्यो दिन , जुन दिन बिद्धालयबाट घर फर्कदै गर्दा एकजना अपरिचित बटुवाले उसको हातमा थमाइदिएको "राँको" र "झिसमिसे" नामक पुस्तकहरु आफ्नो कोठामा राखेकै कारण गाउँको वडाध्य्क्ष भनाउँदो पानी सदस्यहरुको नाइकेबाट चौधबर्षको कलिलै उमेरमा नक्सलबादीको अभियोग झेल्न बाध्य बनेको मात्रै थिएन अपितु तत्कालिन सुरक्षा ऐन अन्तर्गत "सत्य सेवा सुरक्षणम्" का बिल्ला लगाएका पंचायती पाल्तु कुकुरहरुबाट महिनौं दिन टोकिन र लुछिन समेत बाध्य बनेको थियो ऊ ।
त्यति मात्रै होइन चौधबर्षको किशोरावस्थामा आफूमाथि लागेको नक्सलबादीको नाजायज अभियोगबाट छुटकारा पाउन उसले झण्डै तीन साल नै मानसिक प्रताडना भोग्नुपर्यो । भन्नैपर्दा समय-रेखाको त्यो तीनबर्षे अवधिमा कतिपल्ट उसले शासक र प्रशासकहरु समक्ष आफ्नो निर्दोषिताका बयानहरु पेश अर्यो? कतिपल्ट जीहजुरी र अनुनयका शीरहरु झुकायो? अनि आजीवन कारावास र मृत्युदण्डको धम्कीले कतिपल्ट उसले बाँचेर पनि मरिरहेको अनुभूति गर्यो? त्यसको कुनै लेखाजोखा नै छैन उसंग ।
तर टुहुरोको पनि दिन फर्कन्छ भने झैँ एकदिन सत्यको विजय भएरै छड्यो । निरंकुश शासनबाट आजित बनेका नेपाली जनताका अजेय शक्तिसामु राजा बीरेन्द्र र उसका मतियारहरु घुँडा टेक्न बध्य बने । अन्तत: छ्यालीस सालको अन्तिम प्रहरहरुसंगै मुलुकमा बहुदलीय प्रजातान्तृक राज्य-ब्यबस्थाको सूर्योदय भयो र त्यस ऐतिहासिक परिवर्तनले अ मित जस्ता लाखौँ आस्थाका बन्दीहरुलाई "जय नेपाल' र "लाल सलाम" को सलामी अर्पण गर्यो । तर दुर्भाग्य त्यो सम्मान र सलामी पनि केवल औपचारिकताहरुमा नै सीमित बन्न पुग्यो । आम नागरिकका आशातीत चाहनाहरुमा ज्यूँका त्यूँ अग्राख पलाइरहे । एक अर्थमा भन्ने हो भने राजनीतिक दल र त्यसका नेताहरुलाई राज्यसत्ताको पहुँचसम्म पुर्याउने यौटा गतिलो भर्याङ् बाहेक अरु केही बन्न सकेन त्यो परिवर्तन । फलस्वरुप छ्यालीस पछिका दिनहरुमा समेत मुलुकमा परिवर्तनको खासै उज्यालो छाउन सकेन । अझ उल्टै "शिशु प्रजातन्त्र" जोगाउने बहानामा अनिश शाक्य र सम्झना दाहाल जस्ता अबोध बालबालिकाह्रुका छातीमा निर्ममतापूर्बक गोली दाग्ने पाशबिक कामदेखि लिएर देस बनाउने बहानामा आफ्नै आँगन खनेर छिमेकीको घडेरी सोझ्याउने आत्मघाती काम गर्नसम्म पछि परेन त्यो परिवर्तन ।
हो , त्यही परिवर्तनको मनोमालिन्यपूर्ण कार्यका कारण खुर्दलोटन र टनकपुरको अस्मिता लुटियो , महेशपुर र सुस्ताको संवेदना रोयो अनि दशगजा र पशुपतिनगरका सीमास्तम्भहरु बिचलित बने तर अफशोच ! आफ्नै आमा बलात्कृत बनिरहँदा पनि मुकदर्शक बनेर टुलुटुलु रमिता हेरिरहनुको बिकल्प थिएन अमित जस्ता आम नागरिकहरुसंग । बन्दुक र बुटको हिटलरी शासनमुनि जनताका न्यायपूर्ण आवाजहरु निरन्तर दमित मनिरहे । जसको फलस्वरुप जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध पनि हुन्छ भन्ने सास्वत सत्यले बिस्तारै आफ्नो बीजारोपण गर्दै गयो र "वास्तबिक राज्यसत्तको जन्म बन्दुकको नालबाट मात्रै हुन्छ" भन्ने शताब्दीयौं८ पुरानो राजनीतिक दर्शनलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनायो । त्यसपछि त के थियो र? रुकुम गर्जियो , रोल्पा हल्लियो अनि बिस्तार-बिस्तारै सिंगो मुलुक नै बिद्रोहको ज्वालामा पत्पति जल्न थाल्यो । एक अर्थमा भन्ने हो भने बम र बारुदका घनिभूत धुँवाहरुभित्र निस्सासिंदै समाधिस्थ बन्न पुगेको बुद्धको अवशेष खोज्नु बाहेक अरु केही गर्न सक्ने अवस्था बाँकी रहेन मुलुकमा ।
वास्तबमा यीनै घटना र प्रतिघटनाका परिदृष्यहरुको ज्वलन्त स्मरणले नै आज पनि अमितको मनमा परिवर्तनप्रति पूर्णबिश्वास पलाउन सकिरहेको छैन । यद्धपि संबिधानसभाको ऐतिहासिक पहिको बैठकबाट अनुमोदित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनाको प्रारुपले नयाँ नेपाल निर्माण गर्ने कार्यको शिलान्यास गरेको कुरामा भने उसको कुनै बिमति रहेको छैन । जसको पुष्टि त प्रेरणालाई संप्रेषण गरेको उसको इमेल सन्देशबाटै पनि भइसकेको छ ।
“……………….हो प्रेरणा ! आज फेरि देसको संझनामा यो मन त्यसै त्यसै बिचलित बन्न खोजिरहेकोछ । भन्नैपर्दा संबिधानसभाको हिजोको ऐतिहासिक पहिलो बैठकमा जतिसुकै एकमत देखिए पनि आगामी सरकारको गठन र संबिधान निर्माण कार्यमा दलहरुको भूमिका र दायित्वको बिषयमा प्रमुख दलहरुबीच सकारात्मक बहस र संबादको वातावरण सिर्जना हुन नसक्नु निश्चय नै मुलुकका लागि घातक एवम् प्रत्यूत्पादक साबित हुन सक्छ ।
प्रसंगबस कुरा गर्नुपर्दा यहाँ छुटाउनै नहुने दुईटा मुख्य कुराहरु के छन् भने जबसम्म काँग्रेस र एमालेबीच आफूहरु हिजोकै हैसियतमा रहेको कुत्सित दिवासपनाले राज गरिरहन्छ अथवा मूलधारको राजनीतिमा भर्खरै बामे सर्न खोजिरहेको माओबादीभित्र आफू नै देसको एक मात्र निर्णायक राजनीतिक शक्ति भएको दम्भले बास गरिरहन्छ तबसम्म देस र जनताको भाग्य र भविष्य निर्माण गर्ने यस महान कार्यले आशातीत गति लिन सक्तैन । तसर्थ यतिबेला मुक्ति र परिवर्तनको अनुभूतिमा हर्षित र उल्लासित बन्नु भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको दलहरुको संकल्प र प्रतिबद्धतालाई ब्यबहारमा हुबहु लागु गराउन दबाबमूलक परिस्थिको सिर्जना गर्नेतिर लाग्नु नै बुद्धिमता ठहर्नेछ ।
हो प्रेरणा ! हिजोको बैठकको अपबादलाई छोडेर दलहरुभित्र सिर्जना भइरहेका बिषम एवम् बिरोधाभाषपूर्ण विचार र कृयाकलापहरुलाई सुक्ष्म रुपमा बिश्लेषण गर्ने हो भने उनीहरुभित्र पुन: सत्तालिप्सा र दलीय स्वार्थको बिकृत मानसिकताले राज गर्न थालेको सजिलै अनुमान लगाउन सकिन्छ । भन्नैपर्दा छ्यालीस सालको ऐतिहासिक राष्ट्रिय जनआन्दोलन मार्फत धुलो चाटाइएका पूर्बपंचहरुद्वारा पंचायतको पुनरुत्थानार्थ स्थापना गरिएका थापा र चन्द गुटका कथित राष्ट्रिय प्रजातन्त्र पार्टीहरुको नेतृत्वमा गठन भएका नपुंसक सरकारहरुमा बिना हिच्किचाहट एवम् नि:सर्त सहभागिता जनाएका काँग्रेस र एमाले जस्ता उभयलिङ्गी दलहरु आज जनताका बलिदानीपूर्णं संघर्ष र अ मूल्य अभिमतहरुबाट मुलुककै सबैभन्दा ठूलो दलको रुपमा स्थापित हुनपुगेको माओबादीको नेतृत्व स्वीकार्न तयार नहुनु र तिनै दलहरुको पुच्छर समातेर मूलधारको राजनीतिमा सुरक्षित अवतरण गर्न सफल बनेको माओबादी पलभरको बिजयोन्मादमा अन्धो बनेर हिजोका कठिन परिस्थिका सहयात्रीहरुसंग किनारा लाग्न खोज्नुले पनि यही कुराको पुष्टि गरिरहेकोछ ।यद्धपि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शिलान्यास गर्न संबिधानसभाको हिजोको ऐतिहासिक पहिलो बैठकमा उनीहरुले देखाएका साझा प्रतिबद्धता अनि एकता र समझदारीको राजनीतिलाई भने नेपालको इतिहासमा सुनौलो अक्षरले अंकित गर्नैपर्छ ।
प्रेरणा ! आमनागरिकहरुको बुझाईमा जेसुकै अर्थ राखे पनि समग्रमा यो संबिधानसभाको पहिलो एवम् मुख्य दयित्व भनेकै मुलुकमा शदीयौंदेखि एकछत्र राज गर्दै आइरहेको शाही राजतन्त्रको समूल अन्त्य गरेर समय सापेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नु नै हो र यस महान कार्यको शुभारम्भ हिजोकै मितिबाट भ इसकेको पनि छ । यद्धपि यतिमै हामीले ढुक्क बनिहाल्नु निश्चय नै हतारो ठहरिनेछ । भन्नैपर्दा जबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको अवधारणा एवम् मार्ग अनुरुपको नयाँ राज्य संरचनाको निर्माण हुँदैन तबसम्म हिजोको बैठकको ऐतिहासिक घोषणाको कुनै सार्थकता पनि रहँदैन । त्यसैले , संघीय गणतन्त्रात्मक नयाँ राज्य संरचनाको निर्माणार्थ जति सक्यो चाँडो संबिधान निर्माण गरेर मुलुकलाई अग्रगति दिन आफ्ना सबैखाले दलीय स्वार्थहरुलाई थाँति राखेर सम्पूर्ण दलहरुले न्यूनतम कार्यक्रमको आधारमा एउटा साझा राष्ट्रिय सहमतिको आधारबिन्दु तयार गर्नै पर्छ । अन्यथा सौताको रीसले पोइको काख फोहोर गर्दाको नियति फेरि पनि इतिहासमा चरितार्थ नहोला भन्न सकिँदैन ।
खैर जे होस् प्रेरणा ! हिजो र आजको नेपालमा आकाश र जमीनबीचको फरक रहेको कुराको अनुभूति त यो दूरोदेसमै रहेर पनि गरिरहेकैछु । यद्यपि समयका गोरेटाहरुमा जिन्दगीको बयलगाडा चलाउन यो राजनीतिक परिवर्तन मात्रै पर्याप्त हुने छैन भन्ने निष्कर्षले सात समुन्द्रपारीको यो रेगिस्तानमा अझै पनि मलाई आफ्नो आयुको बली चढाउन र सपनाहरुको दाहसंस्कार गर्न विवश बनाइरहेकैछ ।
अन्त्यमा , जति नै कार्यब्यस्तता एवम् समयाभाव रहे पनि बेलाबेलामा अनलाईनमा साक्षात्कार हुन र इमेल सन्देशहरु सम्प्रेषण गर्न कहिल्यै नभूल्नु भन्ने आग्रह सहित आजलाई ओझेल पर्न चाहान्छु ।
लभ् एण्ड् मिस् यू भेरिमच्…………….।
तिम्रै धड्कन " अमित"
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
आफैले तयार पारेको लामो सन्देशको ड्राफ्टलाई पुन: एकपल्ट सर्सर्ती अध्ययन गर्यो उसले अनि भाषा विन्यास र शब्द संयोजनमा रहेका सानातिना त्रुटीहरुलाई सच्याएर प्रेरणाको इमेल ठेगानामा प्रेषित गर्यो ।
त्यतिन्जेलसम्ममा दिन पनि निक्कै छिप्पीसकेको थियो भने घडीको सुईले पनि कामलाई केहीबेरका लागि थाँती राखेर "लन्च ब्रेक" को लागि नजिकैको "क्यान्टिन" तिर जान इशारा गरिसकेको थियो । त्यसैले , मनमा अनेकन् तर्कनाहरु उठिरहेकै भए पनि "कम्प्युटर सटडाउन" गरेर अन्य सहकर्मीहरुसंग रमाइलो ठट्टा गर्दै कार्यालयबाट बाहिरियो ऊ ।
"लन्च ब्रेक" बाट फर्केपछि पनि धेरैबेरसम्म देसकै बारेमा सोचमग्न बन्यो ऊ । सुन्दर , शान्त र समृद्ध नेपालको परिकल्पनामा डुब्दैजाँदा अनायसौ उसको स्मृतिमा त्यही छ्यालीस साले परिवर्तनको परिदृष्य ठोक्किन आइपुग्यो । यौटा वृत्तचित्र झैँ लाग्ने त्य्स परिद्र्ष्यभित्रका तस्बीरहरु एकपछि अर्को गर्दै क्रमश: परिवर्तन हुँदै गए । एकाएक फहराएको परिवर्तनको झण्डासंगै सत्तामा रातारात नयाँ अनुहारहरु बिराजमान भए । राज्य ब्यबस्था र शासन प्रणालीको नाममा आमूल परिवर्तन गरियो । नेपाललाई एशियाको स्वीट्जर्ल्याण्ड र काठमाडौलाई सिंगापुर बनाउने घोषणाहरु भए । तर बिडम्बना ! ती सबै भाषण र कागजी दस्तावेजहरुमै सीमित बने । अन्तत फेरि एउटा अर्को इतिहास लेख्नका लागि नेपाल आमा आफ्नै सपुतहरुको बलिदान माग्न विवश बनिन् । गर्धन छिनिए । रगत बगे । लाखौको जीवनमा अकल्पनीय सुनामीको झट्का लाग्यो । यद्धपि सगरमाथाको शीरमा फर्फराउन पुगेको संघीय लोकतान्तृक गणतन्त्रको गौरबमयी विजय झण्डाले सबैखाले दु:ख , दर्द र पीडालाई पलभरमै बिस्मृत बनाइदियो ।
स्मृतिभरि असरल्ल छरिइरहेका यीनै दृष्यचित्रहरुले अ मितलाई धेरैबेर झस्काइरहन्छ । यद्यपि जति नै अधैर्यता एवम् असंयमताको महसुस भए पनि यौटा नयाँ इतिहास लेखिएको सास्वत सत्यलाई अस्वीकार गर्न सक्तैन ऊ । भलै त्यो इतिहास फेरि किन नदोहोरियोस् ।

साभार: अनुभूतिका बिम्बहरु -कथा संग्रह

 
   
   
 
Site Counter        
 
net tracking statistics
       
    Go to Top | | Main page    
 
Copyright © 2009,Kalasahitya.All Right Reserved.