तातो तातो चिया ! चिया ! फेन्टा ! कोक ! चिसो !!!!!!!!!
बिहानी हुन लागेको चिसो बतासमा मिसिएका यी केटौले आवाजहरू बिहानीको भालेको डाँको झैँ यात्रीहरूको कानमा गुन्जन्छ । थाकेका अनि गाडा निन्द्रा भएकाहरूपनि यो हल्लाले ब्यूँझन्छन् । अनि सगबग गर्दै अर्ध निन्द्रा ले बाहिर हेर्छन र केहि सोच्छन – अब त आइपुग्न लाग्यो होला ! मन नलागी नलागी दायाँ बायाँका यात्री लाई सोध्छन - कहाँ आइ पुग्यो होला ? हेटौडा जस्तो छ, पछाडी बाट कसैले भन्छ ।
पुरानो चप्पल लाएका, मैलो पेन्ट सर्ट लगाएका ३/४ जना केटाहरू अन्डा, चिया, फेन्टा, कोक बोकेर चिच्याउँदै, तँछाड मछाड गर्दै एक्कासि बाढी आएको खोला जस्तै बस भित्र पस्छन ! उनीहरू को होडबाजी छ धेरै र छिटो बेच्ने । लामो यात्रा, पुरानो बस, खाल्डा खुल्डी बाटाले लखतरान पारेकाहरू र उल्टीले सोतर परेकाहरूलाइ केटाहरूको आवाज पनि कर्कस लाग्छ र झपार्छन् - के कान मै कराएको ? सानो स्वर ले बोले किन्दैनन र ? बिस्तारै भने हुन्न ? भलाद्मी यात्रुहरू भने केही भन्दैनन् । कोही केही किन्छन् चिसो तातो । अनि कोही भोक को उपचार गर्छन् । कोही सुद्धिकरणको लागि र खाने खोजि पस्न निस्कन्छन् ।
कोही गलफती गर्छ । खान पनि मन लागेको छ । अनि महँगो पनि लागेको छ । चियाको तिन रुपियाँ ! कोहि चियाको स्वादै जाने गरि कराउँछ ! उसको भलाद्मीपन यहीँ फुक्लन्छ । बाहिर पनि तिन रुपियाँ त हो नि किन झपारेको ? बिस्तारै भने हुन्न ? केटो प्रतिबाद गर्छ रिसाएर । यात्रु मन नलागी नलागी पैसा तिर्छ । अनि भटभटाउन थाल्छ – महँगीबारे एउटा भाषण मानौँ उ विद्रोही नेता हो । अनि यात्रु उनका भोटर ! सखारै सिट सिटमा पिउने र खाने ल्याइदिने यी केटाहरूलाई कोही मीठो सहानुभूति छाड्दैनन्, बस जसरी आयो उसरी बत्तिन्छ !
ती केटाहरू त्यहीँ बस पार्कको पेटीमा बस्छन् अनि झुण्ड झुण्ड भएर आफ्नो आय व्यय को हिसाब किताब केलाउन थाल्छन । तर चितुवा जस्तो आँखा चाँही अर्को आइरहेको हेड लाइट मा हुन्छ । यी केटाहरू १०/१२ /१४ का होलान । कताबाट आए ? कति बस्लान ? यहाँ कसैलाई थाहा हुने पनि भएन । यी स्थानीय सायद हैनन् । वरिपरि गाउँबाट झरेको हुनु पर्छ । उनीहरू यसरी नै रात बिताउँछन् साथी भाइको माझ । अलि पर भने ४/५ जना रिक्सा चालकहरू आफ्नो दैनिकी बताउँदै हाँसी मजाक गरिरहेछन ! पार्क भरि पोस्टर टाँसिएको छ । जन आन्दोलन २०४६ सफल पारौं ! एकतन्त्रको अन्त्य गरौं … पावर टु पिपुल …….कांग्रेशबाम एकता अमर रहोस ! बाम एकता अमर रहोस ! भित्तामा लौह पुरुष गणेशमान सिंह को पोस्टर छ । उनि गम्भीर छन् । तस्विरमा सँगै छन् मार्क्स माओको । अनि कति च्यातिएको पोस्टर भित्ता भरि छन् । ‘थाह ‘ जताततै लेखेको छ भित्ताभरि, सानो ठूलो अक्षरमा । केही हुँदै छ देश मा .. सायद एक ठुलो परिवर्तन !
हे ! आयो ! आयो ! उनीहरूमा कम्पन पैदा हुन्छ । हलचल पैदा हुन्छ । हेड लाइट तिर आँखा लगाउँछन् । हँ … हे यो त जनकपुर् हो … दगुर दगुर … धत्तेरी ट्रक पो रहेछ … कस्तो झिलिमिली पारेको सालेले नाइट बस जस्तो । उम्रेको खुशी त्यसै बिलाउँछ ।
अनि उनीहरू फर्कन्छन उही गफ गाफमा साला – क्या बोर भो आज । उसका पहेंलै दन्त देखाउँदै एउटा सानो आकृति जस्तो लाग्ने १२/१३ को ठिटो बोल्छ । बेलुकी एउटा भारि चढाउँदा नरम नरम हात पर्यो । पक्कै स्याउ भनेर बोरामा सकी नसकी हात पसालेर निकालेको त गोलभेँडा परेछ । हा.. हा……….गोलभेँडापनि कति ठूलो आजकल के गरेर यस्तो बनाको होला ? क्या जिल्ल परियो भने । हा… हा …. हा … यहाँको १५ रुपियाँ किलो गोलभेँडा काठमाडौं लगेर ६० मा बेच्छ । साला कमाउनु कमाउँछ । हामी पनि त्यसै गर्नु पर्छ , अलि बुज्रुक जस्तो देखिने र पाको लाग्ने केटो थप्छ ।
अर्को शुरु गर्छ, आज फेन्टा मात्र दिएको थिएँ बस घ्यार घ्यार गर्न थाली हाल्यो । ए ! पैसा र बोतल देउ भन्दैछु उ त आमाको दुध चुसेको जस्तै बिस्तारै चुसी रहन्छे । मेरो पालो बोतल स्वाट्ट तानेको त फेन्टा त त्यसको लुगा भरि …. पैसा त गयो, बोतल चाहिँ पाएँ । उ पैसा नपाएकोमा दिक्क मान्छ । बोतल दिँदै पैसा लिनुपर्छ नि ! अलि ठूलो ठिटो त्यही बुज्रुक जस्तो देखिने भन्छ । बस लामै बस्थ्यो पहिले पहिले त । यो पाली छिटै गुड्यो । छिटै गुड्ने थाहा भएको भएत ली हाल्थें नि । उ आफू बाठो भएको देखाउन प्रयाश गर्छ ।
यसरी उनीहरू रातभरि नयाँ आएको फिल्म, ड्राइभर, बस, बसमा र बाहिर भेटेको ठिटीको कुरा गरेर रात बिताउँछन् । एउटा संसार छ उनीहरूको । खुशी छन् । भित्तामा टाँसिएको पोस्टर र जनआन्दोलन २०४६ बारे न त थाहा छ न त मतलब.. हिजो गणेशमान आएका थिए । आँधी लेराउने कुरा गर्थे । परिवर्तनको । नयाँ नेपाल को । नजिकै रिक्सावाल कुरा गर्दै थियो आफ्ना दौँतरीसँगै । रातमा उनीहरू ग्राहक खोजेर बसिरहेका थिए ।
आज एउटी बेहुली आएर बसी रिक्सामा । करर्राको ओरालोमा साफ दगुराको त उसको सातो गएछ.. ए कस्तरी कुदाको भनि रहिथी .. औद्योगिक क्षेत्रको ओरालो भए त उडाउथें होला .. ओर्ले पछी पैसा पनि लिन मन लागेन तर .. उसले १० रुपियाँ दिई । लीन मन नलागेर पनि लिन्न भन्न सकिन.. परसम्म गएको हेरीरहें । नयाँ बेहुली रहिछ । उ निश्वास फेरी भन्छ । सायद आफ्नो जीवन को कल्पना गर्छ । यसरी उनीहरू पार्कमा बसेर आफ्ना सुख दुख बाँडछन् । तारा झर्न थालिसकेको हुन्छ ।
यही बाटो भएर कति विद्वान्, प्रोफेसर, नेता, हाकिम, एन जी ओकर्मी, मानव अधिकारबादी, बाल मजदुरबादी आउँछन् जान्छन् तर कसैको आँखामा छैनन् यी । यो कालो रातमा उनीहरू यहीँ छन्, बस पार्कका सारथिहरू । यिनका कथा कसैको कानमा पुग्दैन । कति बस आए गए । समय चलीरह्यो । यी युवा भए, गए । फेरी तातो तातो चिया ! चिया ! फेन्टा ! कोक ! चिसो भन्दै अनुहार नयाँ आईरह्यो । यस्तै रातको बसिबियाँलो अकण्टक भइरहेको छ ।
आजकल भित्तामा पोस्टर फेरिएको छ । तराई एक प्रदेश .. हिमाल पहाडी ….तराई ..लिम्बुवान .. खुम्बुवान … नेवा राज्य, संविधान बना ! देश टुक्राउन पाइन्न । भावर चुरे .. हिन्दु राज्य बना … हामी मधेसी हैनौं आदि ।
आजकल बजारमा एच आइ टीमा दिन दिनै भाषण हुन्छ । थुप्रै नेता आउँछन् । लोकतन्त्र आएको छ रे । नयाँ नेपाल रे … तर यो बस पार्क भित्र जीवन उस्तै छ । केवल अन्डा, चिया, फेन्टा, कोक बोक्नेहरूको अनुहार र यिनका मूल्य फेरिएको छ । आकाशिएको छ । परिवर्तन भएको छ क्यालेन्डरको पाता । आजकाल लौह पुरुषको नाम निशानै छैन । कतै छैन उनको तस्बिर वरिपरि । थाहा लेखिएको छैन भित्तामा । त्यो एकता-एकता भन्ने पोस्टर कतै छैन ।
साभार नेपालप्लस
|