समुद्रि सतहदेखि ४ हजार ३८० मिटरको उचाइमा रहेको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्दै आएको मेला यो वर्ष नलाग्ने भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले शुक्रबार पत्रकार सम्मेलन गरी कोरोना भाइरस संक्रमणका कारण जमघट तथा भिडभाड गर्न नहुने भएकाले यस वर्ष मेला सञ्चालन नगर्ने निर्णय गरिएको जानकारी दिएको हो ।
ऐतिहासिक धार्मिक, पर्यटकीय र सांस्कृतिक महत्व बोेकेको गोसाइँकुण्डमा स्नान गरी भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैं भक्तजन कुण्डमा स्नान गर्न आउँने गर्दछन्। जनैपूर्णिमाका दिन सबै देवी देवताको सो कुण्डमा जमघट हुने हुनाले यहाँ पूजाआजा गरि स्नान गर्नाले पुन्य प्राप्ति हुने जनविश्वास रहिआएको छ।